TU Central Library

Tribhuvan University

Kirtipur, Kathmandu, Nepal

अठारौं पुस्तकालय दिवसको पूर्वसन्ध्यमा प्रस्तुतिकरण तथा अन्तरक्रिया कार्यक्रम 

अठारौं पुस्तकालय दिवसको पूर्वसन्ध्यमा प्रस्तुतिकरण तथा अन्तरक्रिया कार्यक्रम 

2025-08-29

अठारौं पुस्तकालय दिवसको पूर्वसन्ध्यमा त्रिवि केन्द्रीय पुस्तकालयको आयोजनामा Scholarly Publishing Process for Research Journals: From Manuscript to Publication विषयक प्रस्तुतिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्याल प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रममा उपकुलपति अर्यालले त्रिविका क्याम्पसहरूमा एकीकृत पुस्तकालय स्वचालीकरण प्रणाली लागू गर्ने, पुस्तकालयमा उपलब्ध महत्त्वपूर्ण दस्तावेजहरू डिजिटाइजेशन गर्दै जाने, साइन्स डाइरेक्टलगायतका विभिन्न विधाका अनलाइन डाटावेसहरूको सहज पहुँच विस्तार गर्ने लगायतका योजनाहरू विश्वविद्यालयले लिएको जानकारी गराउनु भयो ।  पुस्तकालयलाई सूचना, ज्ञान र इतिहासको धरोहरका रूपमा चित्रण गर्दै अनुसन्धानात्मक जर्नलको व्यवस्थापनमा केन्द्रीय पुस्तकालयको योगदान महत्त्वपूर्ण रहेको बताउनु भयो । साथै गुणस्तरीय जर्नल प्रकाशन र यसको अनलाइन व्यवस्थापनका लागि थप छलफल गरी विशेष योजना ल्याइने जानकारी पनि दिनुभयो ।
त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानका पूर्व डीन प्रा.डा. विनिल अर्यालले Navigating the Global and Local in Academic Publishing शीर्षकमा प्रस्तुतिकरण गर्दै नेपालमा अनुसन्धान लेख प्रकाशनको वर्तमान अवस्था, नेप्जोलबाट स्कोपस जर्नलमा रूपान्तरणका चुनौती र अन्तर्राष्ट्रिय जर्नलहरूको समीक्षात्मक अवलोकन प्रस्तुत गर्नुभयो । उहाँले संख्यात्मक रूपमा बढी रहेका जर्नलहरूलाई गुणस्तरीय बनाउन विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । स्कोपसमा विश्वभरका ३१ हजार जर्नलमध्ये नेपालबाट मात्र ६ वटा सूचीकृत भएको उल्लेख गर्दै नेप्जोल जर्नलमा साइटेशन ट्राकिङ्, विव्लियोमेट्रिक विश्लेषण, अनुसन्धान समिक्षा, एआइ डिटेक्सन, प्लेजारिजम चेकिङ्को व्यवस्थामा सुधार गर्नु पर्नेमा जोड दिनुभएको थियो । 
त्रि.वि. मानवशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक डा. मनबहादुर खत्रीले “Elevating NepJoL and Dhaulagiri Journal of Sociology and Anthropology: A Roadmap to Scholarly Indexing and Journal Ranking” शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै सन् २००५ देखि निरन्तर प्रकाशन हुँदै आएको धवलागिरी जर्नल अफ सोसियोलोजी एण्ड एन्थ्रोपोलोजी प्रकाशनका अनुभवहरू शेयर गर्नुभएको थियो । त्यसैगरी पोटेन्ट मिडिया होमका कार्यकारी निर्देशक सुरेश रिजालले “Journal Management & Research Indexing Platform for Tribhuvan University” शीर्षकमा प्रस्तुति दिँदै नेप्जोलबाट स्कोपसमा इन्डेक्सिङ गर्ने प्रक्रिया, देखिएका कमजोरीहरू, ओपन जर्नल सिस्टमको प्रयोग विधि र अनुसन्धानमूलक लेख प्रकाशनका उपायहरूको बारेमा विस्तृत जानकारी गराउनुभयो ।
प्रस्तुतिकरणपछि भएको अन्तरक्रिया सत्रमा नेप्जोलबाट स्कोपसमा रूपान्तरण गर्दा आउन सक्ने चुनौती, नेप्जोल प्रणालीमा रहेका सुविधाहरू पूर्ण रूपमा प्रयोग गर्न नसकिएको समस्या, जर्नल प्रकाशन प्रक्रियामा पुस्तकालयकर्मीको सक्रिय सहभागिता आवश्यकता जस्ता विषयमा सहभागीहरूले जिज्ञासा राख्नुभएको थियो ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका प्रमुख सागर राज सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका डीन, कार्यकारी निर्देशक, क्याम्पस प्रमुख, केन्द्रीय विभागका प्रमुख, जर्नल सम्पादक, पुस्तकालयकर्मी, विद्यार्थी लगायत करिब १७० भन्दा बढीको भौतिक उपस्थिति रहेको थियो भने अनलाइनमार्फत विशेषगरी उपत्यका बाहिरबाट ५० भन्दा बढी सहभागी जोडिएका थिए । 
दिवसको अवसर पारेर त्रिवि कर्मचारी संघ, केन्द्रीय पुस्तकालय इकाई समितिको आयोजनामा केन्द्रीय पुस्तकालय परिसरमा वृक्षारोपण कार्यक्रम पनि गरिएको छ । विभिन्न प्रजातिका ३० भन्दा बढी बोटविरूवाहरू रोपिएका छन् । 
नेपालमा २०६५ सालदेखि प्रत्येक बर्ष भाद्र १५ गते पुस्तकालय दिवस मनाउँदै आइराखिएको छ । यस वर्ष शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवको अध्यक्षतामा “हाम्रो पुस्तकालय : हाम्रो भविष्य” भन्ने मुल आदर्श वाक्यका साथ १८ औँ पुस्तकालय दिवस २०८२ मनाउन लागिएको छ ।