Kirtipur, Kathmandu, Nepal
टोखा नगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक पुस्तकालयहरूको व्यवस्थापन तथा सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र आधुनिक प्रविधिमैत्री बनाउने उद्देश्यका साथ नगर प्रमुख प्रकाश अधिकारी सहितको ४० (चालीस) जनाको टोलीले त्रि.वि. केन्द्रीय पुस्तकालयको अवलोकन गर्नु भएको छ । नगरप्रमुख सहितको टोलीलाई केन्द्रीय पुस्तकालयका प्रमुखले स्वागत गर्नु भएको थियो ।
टोखा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वयमा केन्द्रीय पुस्तकालयको सेमिनार हलमा भएको पुस्तकालय अभिमुखीकरणमा नगर प्रमुख प्रकाश अधिकारी, शाखा प्रमुख खगेन्द्र सिंह धामीलगायत अन्य कर्मचारीहरूका साथै सामुदायिक पुस्तकालयका पदाधिकारी तथा पुस्तकालय कर्मचारीहरूको सहभागिता रहेको थियो । अभिमुखीकरणमा केन्द्रीय पुस्तकालयमा उपलब्ध सेवा सुविधा, प्रविधिको प्रयोग, पुस्तकालय सञ्चालन विधि तथा स्थानीय निकायसँगको सहकार्यको सम्भावनाका सम्बन्धमा प्रस्तुतिकरण गरिएको थियो ।
नगर प्रमुख अधिकारीले टोखा नगरपालिका अन्तरगत ५ वटा पुस्तकालयहरू सञ्चालनमा रहेका र नगरवासीहरूलाई उत्कृष्ट पुस्तकालय सेवा विस्तार गर्ने कार्य नगरपालिकाको प्राथमिकतामा रहेको बताउनु भयो । पुस्तकालयको असल कार्यको अवलोकन प्रेरणादायी रहेको र टोखा नगरपालिका केन्द्रीय पुस्तकालयसँग सहकार्य गरी अगाडी बढ्न इच्छुक रहेको बताउनु भयो । प्रस्तुतिकरणपछि टोलीले केन्द्रीय पुस्तकालयका दुई भवनको अवलोकन पनि गर्नु भएको थियो ।
