TU Central Library

Tribhuvan University

Kirtipur, Kathmandu, Nepal

स्व. शान्ति मिश्रको तस्बिर अङ्कित हुलाक टिकट प्रकाशन

स्व. शान्ति मिश्रको तस्बिर अङ्कित हुलाक टिकट प्रकाशन

2026-06-23

नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत हुलाक सेवा विभागले त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय तथा यसको विकासमा ऐतिहासिक योगदान पुर्‍याउनु भएकी स्वर्गीय शान्ति मिश्रको तस्बिर अङ्कित हुलाक टिकट प्रकाशन गरेको छ । हुलाक सेवा विभागको कार्यालय ववरमहलमा एक कार्यक्रमका बिच २०८३ असार ९ गते सूचना तथा सञ्चार मन्त्रालयका सचिव लक्ष्मीकुमारी वस्नेत हुलाक टिकटमा प्रथम दिवसीय आवरणमा टाँचा लगाउनु भएको हो । 
नेपालको पुस्तकालय तथा सूचना विज्ञान क्षेत्रमा पहिलो पटक पुस्तकालयकर्मीको योगदानलाई हुलाक टिकटमार्फत राष्ट्रिय रूपमा सम्मान गरिएको यो ऐतिहासिक अवसर हो । जसले ज्ञान, अनुसन्धान र सूचना व्यवस्थापनप्रति राज्यको प्रतिबद्धतालाई उजागर गरेको छ । स्व. शान्ति मिश्र त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयकी प्रथम प्रमुख पुस्तकालयाध्यक्ष हुनुहुन्थ्यो । उहाँको नेतृत्वमा त्रिभुवन विश्वविद्यालयको पुस्तकालयलाई आधुनिक तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थापन प्रणालीको विकास भएको थियो ।
४५ × ३५ मिलिमिटर आकारको, छ रङयुक्त तथा ४ लाख ७५ हजार प्रति प्रकाशित यस हुलाक टिकटले नेपालको आधुनिक पुस्तकालयको अभियान स्व. शान्ति मिश्रको अतुलनीय योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने सांस्कृतिक तथा बौद्धिक दूतका रूपमा भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
पुस्तकालयकर्मीको तस्बिरमा हुलाक टिकट प्रकाशन हुनु त्रि.वि. केन्द्रीय पुस्तकालय परिवारका लागि मात्र गौरवको विषय नभएर सम्पूर्ण पुस्तकालय तथा सूचना विज्ञान समुदायका लागि ऐतिहासिक उपलब्धि र प्रेरणादायी सम्मानका रूपमा केन्द्रीय पुस्तकालयले लिएको छ ।