Kirtipur, Kathmandu, Nepal
त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालले टेक्नोलोजिकल रिभोलुसन इन लाइब्रेरी सर्भिसेस (Technological Revolution in Library Services) विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । १६ औं पुस्तकालयका दिवसको पुर्वसन्ध्यामा सम्पन्न अन्तर्क्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले डिजिटल पुस्तकालय निर्माणका लागि डिजिटाइजेशन नीति आवश्यक रहेकोमा जोड दिनु भयो । नेपालमा विश्वविद्यालय भन्नाले त्रिभुवन विश्वविद्यालय चिनिन्छ भने पुस्तकालय भन्नाले आम जनमानसले केन्द्रीय पुस्तकालय नै बुझ्दछन् । त्यसैले यस पुस्तकालयको गुणस्तर वृद्धि गर्दै आधुनिक प्रविधियुक्त बनाउनका लागि अनुदान आयोज सकारात्मक रहेको बताउनु भयो ।
त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा. विनिल अर्यालले एकेडेमी अनेस्टी इन रिसर्च वर्क (Academic Honesty in Research Work)] र त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक रोमकान्त पाण्डेले ए ड्रिम अफ टीयूसिएलः डिजिटाइजेशन अफ लाइब्रेरी सिस्टम (A Dream of TUCL: Digitalization of Library System) विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यपत्रमाथि राय सल्लाह सुझाव राख्ने क्रममा सहभागिहरुले कन्सोर्सियम डिपोजिटरीको अवधारणको सुरुवात गर्नु पर्ने, प्लेजारिजको प्रयोगमा प्रोत्साहन नभएको, ई–रिसोर्सेस प्रयोगमा विस्तारलाई ध्यान दिनुपर्ने, शैक्षिक पुस्तकालयको सेमिनार गर्नु पर्ने, अन्य निकायमा पनि डिजिटाइजेसनक गर्ने कार्य भईरहेकाले कामको डुब्लिकेसनलाई ध्यान दिनु पर्नेमा जोड दिनु भएको छ । नेपाल सरकारले केही पुस्तकालयहरुमा डिजिटाइजेशन गर्ने नीति लिइसकेकाले केन्द्रीय पुस्तकालयलाई पनि त्यसमा जोडनुपर्ने सुझावहरु आएको छ ।
सोह्रौं पुस्तकालय दिवस मुल समारोह समितिको सदस्य सचिव यादव चन्द्र निरौलाले नेपालका पुस्तकालयहरुमा आधुनिक प्रविधिहरुको प्रयोग गर्न ढिला भइसकेकोमा जोड दिनु भयो । कार्यक्रममा सभापति तथा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले कोभिडपछि केन्द्रीय पुस्तकालयले थप प्रविधिमैत्री पुस्तकालय सेवा प्रवाह गर्न सफल भएको बताउनु भयो । साथै शिक्षाध्यक्ष भुसालले पुस्तकालय सेवालाई देशव्यापी बनाउने सन्दर्भमा केन्द्रीय पुस्तकालय अहोरात्र लागेको जानकारी गराउनु भयो । उक्त कार्यक्रममा त्रि.वि. केन्द्रीय पुस्तकालय नि.प्रमुख सागरराज सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका अध्ययन संस्थान तथा संकायका डीनहरू, अनुसन्धान केन्द्र तथा अन्य निकायका कार्यकारी निर्देशकहरू, विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल, आङ्गिक क्याम्पसका क्याम्पस प्रमुखहरू, केन्द्रीय विभाग विभागीय प्रमुखहरू, कार्यक्रम तथा स्कुलका संयोजक तथा निर्देशकहरू, त्रि.वि. कर्मचारी संघ अध्यक्ष , नेपाल प्राध्यापक संघ तथा विश्वविद्यालय क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियन प्रतिनिधि, त्रि.वि.का महाशाखा तथा कार्यालय प्रमुखहरू लगायत नेपालका विभिन्न पुस्तकालयका प्रमुखहरू, वरिष्ट पुस्तकालयकर्मीहरु, पत्रकारहरूको उपस्थिती रहेको थियो । उपस्थित सम्पूर्ण व्यक्तित्वहरूमा त्रि.वि केन्द्रीय पुस्तकालय हार्दिक आभार व्यक्त गर्दछ ।
समाजमा पुस्तकालयको विस्तारका गरी अध्ययन संस्कृतिको विकास गर्ने र सूचना तथा ज्ञानमा आधारित समाज निर्माणका लागि अनुकूल वातावरण सिर्जना गर्ने मुख्य उद्देश्यका साथ नेपालमा पुस्तकालय स्थापनाका लागि तत्कालीन राजा गिर्वाणयुद्ध वीर विक्रम शाहले लालमोहर जारी गरी कानूनी मान्यता प्राप्त भएको ऐतिहासिक दिन वि.सं. १८६९ भाद्र १५ गतेको सम्झनास्वरुप नेपालमा वि.सं. २०६५ भाद्र १५ गतेदेखि हरेक वर्ष पुस्तकालय दिवस मनाउन थालिएको हो ।
यस बर्ष पनि पुस्तकालय दिवस देशव्यापी रुपमा मनाउने क्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवज्यूको अध्यक्षतामा मुल समारोह समिति गठन गरी “पुस्तौं पुस्ताका लागि पुस्तकालय” भन्ने आर्दश वाक्यका साथ सोह्रौं पुस्तकालय दिवस मनाउन लागिएको छ । त्रिभुवन विश्वविद्यालयमा सोह्रौं पुस्तकालय दिवस, २०८० लाई भव्य रुपमा मनाउनका लागि आफ्ना मातहतका निकायहरुलाई विविध कार्यक्रम गर्न सर्कुलर गरिसकेको छ ।