TU Central Library

Tribhuvan University

Kirtipur, Kathmandu, Nepal

त्रिवि केन्द्रीय पुस्तकालयको नयाँ भवन उद्घाटन

त्रिवि केन्द्रीय पुस्तकालयको नयाँ भवन उद्घाटन

2024-01-05

त्रि. वि. केन्द्रीय पुस्तकालयको नयाँ भवन उद्घाटन 


त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको नयाँ भवनको उद्घाटन भएको छ । नेपाल सरकारका परराष्ट्रमन्त्री नारायण प्रकाश साउद र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले संयुक्त रुपमा पुस्तकालयको उद्घाटन गर्नु भएको छ । 
उक्त कार्यक्रममा भारत सरकारको अनुदान सहयोगमा नेपालमा शिक्षा क्षेत्र परियोजनाहरूको भूकम्पपछि पुनर्निर्माण कार्यक्रम अन्तर्गत सम्पन्न केन्द्रीय पुस्तकालयका साथै २५ विद्यालय, ३२ अस्पताल र एक सांस्कृतिक परियोजना पनि संयुक्त रुपमा उद्घाटन भएको छ ।   
केन्द्रीय पुस्तकालयका लागि निर्मित भवन ७ हजार ८ सय ७५ स्क्वायर मिटर क्षेत्रफलमा विपद् प्रतिरोधी ढाँचामा तीन तल्लाको भवन निर्माण भएको छ । भवन निर्माण कार्यको प्रारम्भ मिति २०७८ पुष ६ देखि १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएता पनि प्राविधिक कारणले केही महिना ढिलो भएको हो । 
यस नयाँ पुस्तकालय भवन पूर्णतया अपाङ्गमैत्री बनाउने क्रममा लिफ्टको व्यवस्था पनि गरिएको छ भने पाठक तथा अनुसन्धानकर्ताहरूका लागि २४ सै घण्टा बसेर अध्ययन गर्न सक्ने व्यवस्था मिलाइएको छ । यस भवनमा ८ सय पाठकहरू एकै सयममा बसेर अध्ययन गर्न सक्ने क्षमता रहेको छ । अनुसन्धानकर्ताहरूलाई ई–लाइब्रेरी सुविधाका लागि ६० वटा कम्युटरसहित एक छुट्टै कम्प्युटर ल्याबको पनि व्यवस्था गरिएको छ । यसै गरी यस पुस्तकालयको नयाँ भवनमा २०० जनाको क्षमता रहेको छुट्टै सेमिनार हलको व्यवस्था रहेको छ । 
शारीरिकरूपले अशक्त पाठकहरूको सरल पहुँच र सहजताका लागि एक छुट्टै अडियो–भिडियो कक्षको व्यवस्था गरिएको छ । पाठकहरूलाई पुस्तक लेनदेन सेवामा अत्याधुनिकता ल्याउने क्रममा निकट भविष्यमा RFID (Radio-Frequency Identification) सिस्टम जडान गरिने योजना रहेको छ । पुस्तकालयमा ६० वटा  सिसिटिभी क्यामेरा (CCTV Camera), फायर अलार्म प्रणाली (Fire alarm system), अग्निशमक यन्त्र (Fire extinguisher) हरू जडान तथा सोलार सिस्टमका साथै जेनेरेटरको पनि व्यवस्था रहेको छ । पुस्तकालयको मूल ढोकाबाट प्रवेश गर्ने बित्तिकैको इन्डियन कर्नर पुस्तकालयभित्रकै एक आर्कषक अध्ययन कक्षको रूपमा रहेको छ ।    
यस नयाँ भवनको निर्माण लागत भ्याटसहित ३६ करोड ११ लाख ६६ हजार २ सय ९१ रूपैयाँ ३७ पैसा रहेता पनि भवन निर्माण कार्य सम्पन्न हुँदासम्म यसको लागत ४२ करोड ४० लाख पुगेको छ । भवन निर्माणको जिम्मेवारी केसी हनुमान जे.भी, भैँसेपाटी, ललितपुरबाट सम्पन्न भएको हो । केन्द्रीय भवन अनुसन्धान संस्थान रूर्की, भारत परामर्शदाता कम्पनीका रूपमा रहेको यस भवन निर्माणको सम्पूर्ण व्यवस्थापकीय पक्ष नेपाल सरकार  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाईको रहेको छ । यस पुस्तकालयबाट निर्माणपछि त्रिभुवन विश्वविद्यालका प्राध्यापक, विद्यार्थी, अनुसन्धानकर्ता, कर्मचारीहरू लगायत अन्य पाठकहरू प्रत्यक्ष लाभान्वित हुनेछन । 
त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको भवन निर्माणलाई उच्च प्राथमिकतामा राखी अनुदान सहयोग उपलब्ध गराएकोमा भारत सरकारप्रति हामी हार्दिक आभार व्यक्त गर्न चाहन्छौं। त्यसैगरी कुशल व्यवस्थापकीय पक्षका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाई, परामर्शदाता कम्पनी, भवन निर्माणकर्ता कम्पनीलाई धन्यवाद ज्ञापन गर्दछौं । साथै भवन निर्माण कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने त्रिभुवन विश्वविद्यालय पदाधिकारीज्यूहरू, यस केन्द्रीय पुस्तकालयका पूर्व प्रमुखज्यूहरू लगायत सहयोग गर्नुहुने सरोकारवाला पक्षहरू सबैप्रति आभार व्यक्त गर्दछौं ।