Kirtipur, Kathmandu, Nepal
नेपाल अङ्ग्रेजी भाषा शिक्षक संघ (नेल्टा) झापाको आयोजनामा पुस्तकालय व्यवस्थापन तथा सीप विकास तालिम सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको प्राविधिक सहयोगमा सम्पन्न तालिमको प्रमुख अतिथि मेची बहुमुखी क्याम्पस, झापाका क्याम्पस प्रमुख जीवन पोखरेलले उद्घाटन गर्नुभएको हो ।
झापा जिल्लाका विभिन्न विद्यालय, क्याम्पस तथा कलेजका पुस्तकालयमा काम गर्ने कर्मचारीहरुलाई लक्षित गरी आयोजना गरिएको तालिममा पुस्तकालय व्यवस्थापनका लागि आधारभुत विषयबस्तुका बारेमा सैद्धान्तिक र व्यवाहारिक पक्षका बारेमा जानकारी दिदै पुस्तक दर्ता प्रक्रिया, पुस्तकालयको व्यवस्थापकीय कार्यहरु, प्रविधिमैत्री पुस्तकालयको अवधारणा लगायतका विविध समसामयिक विषयवस्तु समेटिएको थियो ।
उद्घाटन कार्यक्रममलाई सम्वोधन गर्दै क्याम्पस प्रमुख पोखरेलले झापाका विद्यालय तथा कलेजमा पुस्तकालय व्यवस्थापनका लागि आफ्नो कलेजले पनि प्राविधिक सहयोग गर्दै आइरहेको जानकारी दिनु भयो । उहाँले आगामी दिनमा पनि कुनै निकायबाट माग भएको अवस्थामा सक्दो सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।
तालिमका संयोजक धर्मेन्द्र भट्टराईले झापा जिल्लाका शैक्षिक संस्थाहरुमा पुस्तकालय व्यवस्थापनमा देखिएका समस्याहरुलाई केही हदसम्म भएपनि निरुपण गर्ने गरी तालिम आयोजना गर्न लागिएको बताउनु भएको थियो । कार्यक्रममा विर्तामोड नगरपालिका झापाका शिक्षा, यूवा तथा खेलकुद प्रमुख तिलचन भण्डारीले तालिमको आवश्यकता र औचित्यमाथि प्रकाश पार्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।
तीन दिनसम्म सञ्चालित तालिमको समापन विर्तामोड नगरपालिका नगर प्रमुख पवित्र महतारा प्रसाईले गर्नुभएको थियो । समापन समारोहको प्रमुख अतिथिका रुपमा रहनुभएका नगरप्रमुख महताराले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै सिकेका कुराहरुलाई आफ्नो निकायमा गई कार्यान्वयन गरी व्यवस्थित पुस्तकालय सेवा विस्तारमा योगदान गर्न आग्रह गर्नुभयो । त्यसैगरी पुस्तकालयका नि. प्रमुख सागरराज सुवेदीले यो तालिम छोटो समयको भएता पनि अधारभूत विषयवस्तु समेटने प्रयास गरिएको बताउनु भयो ।
नेल्टा झापा शाखाका अध्यक्ष प्रकाश पराजुलीले पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण संस्था तथा व्यक्तिहरु प्रति आभार व्यक्त गर्दै नेल्टा झापाले आगामी दिनमा पनि यस्तै फरक र आवश्यकतामा आधारित विषयबस्तुलाई समेटेर तालिम सञ्चालन गर्ने बताउनुभयो ।
त्रि.वि. केन्द्रीय पुस्तकालयका नि. प्रमुख सागरराज सुवेदी र पुस्तकालय अधिकृत विजय शर्मा स्रोत व्यक्तिका रुपमा सहजीकरण गर्नुभएको थियो । उक्त तालिममा झापा जिल्लाका विभिन्न शैक्षिक संस्थाबाट २५ जनाको सहभागिता रहेको थियो ।
केन्द्रीय पुस्तकालयका प्रमुख सुवेदी र पुस्तकालय अधिकृत शर्मा सोही अवसरमा झापा जिल्लामा रहेका विभिन्न क्याम्पसका पुस्तकालयहरुको अवलोकन तथा अन्तरक्रिया कार्यक्रममा सहभागि हुनुभएको थियो । त्रिदेब बहुमुखी क्याम्पस, मेची बहुमुखी क्याम्पस र दमक बहुमुखी क्याम्पसका पुस्तकालयको अवलोकन, निरीक्षण तथा ई–रिसोर्सेसको प्रयोग, डिजिटल लाइबेरी निर्माण तथा प्लेजरिजम परीक्षणका सम्बन्धमा सम्बन्धित पक्षसँग छलफल तथा अन्तरक्रिया गर्नु भएको थियो ।
