Kirtipur, Kathmandu, Nepal
त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको नवनिर्मित भवनबाट पाठक सेवालाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि गर्नुपर्ने नीतिगत व्यवस्था, सहज रुपमा उपलब्ध गराउन सकिने सेवा सुविधा तथा भावि योजनाहरु लगायतका विषयमा अग्रज पुस्तकालयकर्मीहरूसँग छलफल गरिएको छ । उक्त छलफल कार्यक्रममा केन्द्रीय पुस्तकालयका पूर्व लाइब्रेरियन जनार्दन ढुङ्गाना, सीता शर्मा, इन्द्रप्रसाद अधिकारी, पुर्णलाल श्रेष्ठ लगायत पुस्तकालयकर्मीहरू इन्दिरा दली, विणा बैद्य, चिरन्जिवी न्यौपानेको उपस्थिति रहेको थियो । साथै त्रि.वि. पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागका विभागीय प्रमुख लिला न्याइच्याइ, त्रि.वि.का सहप्रशासक विष्णुप्रसाद अर्यालको उपस्थिति रहेको थियो ।
अग्रज पुस्तकालयकर्मीहरूले दुवै भवनबाट समानान्तर रूपमा सेवा प्रवाह गर्न अत्यन्त चुनौतिपूर्ण हुने भएकाले थप कर्मचारीहरूको व्यवस्था गर्नुपर्ने, पुरानो भवनलाई ऐतिहासिक पुस्तकालयको रूपमा विकास गर्नुपर्ने र नयाँ भवनलाई आधुनिक प्रविधिमैत्री पुस्तकालयका रूपमा विकास गर्दै लैजानुपर्नेमा जोड दिनु भएको थियो ।पुस्तकालयको सेवा विस्तार गर्ने सम्बन्धमा पुस्तकालयका प्रयोगकर्ताहरू प्राध्यापक, विद्यार्थी तथा अनुसन्धानकर्ताहरूसँग पनि छलफल गरी सल्लाह सुझावहरू लिनु उपयुक्त हुने राय आएको थियो।
त्रि.वि. केन्द्रीय पुस्तकालयको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा उपस्थित भई अमुल्य राय, सल्लाह सुझाव दिनु भएकोमा पुस्तकालयका पूर्वप्रमुखहरु तथा अग्रज पुस्तकालयकर्मीहरूमा केन्द्रीय पुस्तकालयका नि. प्रमुख सागरराज सुवेदीज्यूले हार्दिक आभार व्यक्त गर्नु भएको थियो । नि. प्रमुख सुवेदीज्यूले अग्रजहरूबाट आएका महत्वपूर्ण सल्लाह सुझावहरु तथा मार्गनिर्देशनलाई आत्मसात् गर्दै पुस्तकालयले आगामी योजनाहरु निर्माण गरी सेवालाई प्रभावकारी बनाउने र आगामी दिनहरुमा पनि अग्रजहरुबाट अमुल्य सल्लाह सुझावको अपेक्षा गर्नु भएको थियो ।