Kirtipur, Kathmandu, Nepal
त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. खड्ग के.सी. को अध्यक्षतामा त्रि.वि. केन्द्रीय पुस्तकालय विकास समितिको वैठक सम्पन्न भएको छ । बैठकले केन्द्रीय पुस्तकालय नयाँ भवनमा स्थानान्तरण तथा पुस्तकालयमा हुँदै गरइरहेको जनशक्ति अभावलाई न्यूनिकरण गर्ने, ई–रिसोर्सेस डाटावेसको दीर्घकालीन सञ्चालन , पुस्तकालय सञ्चालन निर्देशिका तथा आइएसवियन सम्बन्धी निर्देशिका पारित लगायत सदस्य सचिवबाट प्रस्तुत बाह्रवटा प्रस्ताव माथि छलफल गरी आवश्यक निर्णय लिइएको छ । विश्वविद्यालयका शिक्षाध्यक्ष तथा समितिका अध्यक्ष प्रा.डा. के.सी. ले सदस्यहरूले उठाउनु भएका कतिपय विषयहरूलाई स्पष्ट पर्दै थप अध्ययनको आवश्यक पर्ने विषयका सम्बन्धमा पुस्तकालय विशेष समितिमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने जानकारी दिनुभयो । अध्यक्षज्यूबाट सहभागि सम्पूर्ण सदस्यहरूलाई बैठकमा उपस्थित भइ महत्वपूर्ण बिचार राख्नु भएकोमा धन्यवाद ज्ञापन गरी बैठकको समापन गर्नु भयो ।
त्रि.वि. संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियमको परिच्छेद १० को नियम ४२ मा विश्वविद्यालयका अध्ययन संस्थान, संकाय, अनुसन्धान केन्द्र, आङ्गिक क्याम्पस, विभाग तथा सम्बन्धन प्राप्त क्याम्पसका पुस्तकालय र प्रलेखालयको स्थापना तथा विकास गरी प्रभावकारी रूपमा सञ्चालनका लागि पुस्तकालय विकास समिति गठन गर्ने प्रावधान रहेको छ । नियम ४२ (२) को व्यवस्था अनुसार शिक्षाध्यक्षको सिफारिसमा उपकुलपतिबाट गठन हुने यस समितिको कार्यकाल तीन बर्षका लागि रहने व्यवस्था छ । त्रिभुवन विश्वविद्यालका अध्ययन संस्थान तथा सङ्कायका डीनहरू, अनुसन्धान केन्द्रका कार्यकारी निर्देशकहरू, पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक पदेन सदस्यका साथै क्याम्पस प्रमुख, विभागीय प्रमुख तथा पुस्तकालयकर्मीहरू मध्येबाट समितिमा थप सदस्यहरू मनोनयन गरी जम्मा २५ सदस्यीय समिति रहने व्यवस्था छ ।
