TU Central Library

Tribhuvan University

Kirtipur, Kathmandu, Nepal

गोरखापत्रद्वारा केन्द्रीय पुस्तकालयको अवलोकन

गोरखापत्रद्वारा केन्द्रीय पुस्तकालयको अवलोकन

2024-07-02

२०८१ असार १८,

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरी, नि.प्रधान सम्पादक शिवकुमार भट्टराई लगायत संस्थानको पुस्तकालय स्तरोन्नती तथा व्यवस्थापन उप–समितिबाट त्रि.वि. केन्द्रीय पुस्तकालयको अवलोकन भएको छ । गोरखापत्रका प्रकाशनलाई केन्द्रीय पुस्तकालयले व्यवस्थित रूपमा राखेको देखेर अध्यक्ष सुवेदीले केन्द्रीय पुस्तकालय प्रति आभार व्यक्त गर्नु भयो । केन्द्रीय पुस्तकालयले २०२५ साल देखिको गोरखापत्रलाइ वाइन्डिङ्ग गरी व्यवस्थित रूपमा राख्दै आइरहेको छ । 
पुस्तकालयको अवलोकन पश्चात् गोरखापत्र संस्थानको पुस्तकालय स्तरोन्नती तथा व्यवस्थापन उप–समितिको बैठक महाप्रबन्धक लालबहादुर ऐरी अध्यक्षतामा केन्द्रीय पुस्तकालयमा नै बसेको थियो । बैठकमा संस्थानको पुस्तकालय व्यवस्थित गर्न भएका कामहरूको समीक्षा तथा भावि कार्ययोजनाका सम्बन्धमा छलफल भएको थियो । बैठकले संस्थानको पुस्तकालय व्यवस्थित बनाउनका लागि केन्द्रीय पुस्तकालयबाट भएको सहयोगप्रति केन्द्रीय पुस्तकालयलाई धन्यवाद ज्ञापन गरेको छ । पुस्तकालयको स्तरोन्नती गर्दा भएका कामहरूको  समीक्षा, भावि योजनाहरू तयार तथा पुस्तकालय सञ्चालन निर्देशिकाको मस्यौदा निर्माण गरी अभिलेखिकरणका लागि प्रतिवेदन तयार गर्न संस्थानका नि. नायव महाप्रबन्धक यमप्रसाद कँडेलको संयोजकत्वमा त्रि.वि. केन्द्रीय पुस्तकालयका पुस्तकालय अधिकृत विजय शर्मा सदस्य र संस्थानका पुस्तकालयका प्रमुख विमला खड्का सदस्य–सचिव रहने गरी एक समिति गठन गरेको छ ।  
देशका दुई अग्रणी संस्थाहरू गोरखापत्र संस्थान र त्रि.वि. केन्द्रीय पुस्तकालय बिच २०७८ देखि गोरखापत्र संस्थानको पुस्तकालय स्तरोन्नति तथा व्यवस्थापन सहयोग सम्बन्धी सम्झौता गरी सहकार्य गर्दै आइरहेका छन् ।