Kirtipur, Kathmandu, Nepal
काठमाडौं । २०८१ भाद्र १३
सत्रौं पुस्तकालय दिवसको पुर्वसन्ध्यामा त्रि.वि. केन्द्रीय पुस्तकालयको आयोजनामा यही भाद्र १३ गते “अनुसन्धानात्मक पत्रकारिताका लागि पुस्तकालय” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । त्रि.वि. केन्द्रीय पुस्तकालयको सभा हलमा भएको अन्तरक्रिया कार्यक्रममा त्रि.वि. पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र पुस्तककालय तथा सूचना विज्ञान केन्द्रीय विभागका विभागीय प्रमुखद्वय डा. कुन्दन अर्याल र डा. लिला न्याइच्याई वक्ताका रूपमा रहनु भएको थियो ।
पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका विभागीय प्रमुख डा. अर्यालले अध्ययनसिल पत्रकारले मात्र गुणस्तरीय पत्रकारिता गर्न सक्ने भएकाले अध्ययनको लागि पुस्तकालय नै उपयुक्त स्थान हुनेमा दुईमत नभएको बताउनु भयो । पछिल्लो समय पत्रकारमा अध्ययन गर्नु पर्छ भन्ने मान्यता कम हुँदै जानु अत्यन्त दुःखत पक्ष हो । कुनै पनि समाचार तयार गर्दा एउटा पत्रकारले मानवसँग कुराकानी, घटनाको प्रत्यक्ष अवलोकन र त्यसको आधिकारिकता पुष्टि गर्न अध्ययन सामग्रीको प्रयोग हुनु पर्दछ । मानव स्रोत, अवलोकन र अध्ययन सामग्रीको त्रिकोणत्मक समन्वयबाट बनेको समाचार मात्र गुणस्तरीय हुनेमा जोड दिनु भएको थियो। पत्रकारमा अध्ययन संस्कृतिको कमीले मिसइन्फर्मेसन र डिसइन्फर्मेसन बढ्दै तथ्याङ्कमा आधारित पत्रकारिता समेत कम हुन थालेकोमा डा. अर्यालले चिन्ता समेत व्यक्त गर्नु भयो ।
पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागका विभागीय प्रमुख डा. लिला न्याइच्याईले अनुसन्धानात्मक पत्रकारिताका लागि पत्रकारलाई पुस्तकालयको सहकार्य आवश्यक पर्ने भएकाले पुस्तकालयकर्मीले स्रोतको उचित व्यवस्थापन गरी सहज पहुँचयोग्य वनाइ सेवा प्रवाह गर्न सकेको अवस्थामा सहि सूचना संप्रेषण हुने बताउनु भयो । खोज पत्रकारिताको सहयोगार्थ हाम्रा पुस्तकालयमाहरूमा डाटाहरू पनि सङ्कलन गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
त्रि.वि. केन्द्रीय पुस्तकालयका नि.प्रमुख सागरराज सुवेदीको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा सहभागिहरूबाट पुस्तकालय तथा आमसञ्चार दुबै पेशा कसैप्रति पूर्वाग्रही नभई सेवामुखी भावले काम गर्ने भएकाले सहकार्य गरी अगाडी बढ्नु पर्नेमा जोड दिएका थिए । नि.प्रमुख सुवेदीले सञ्चार गृहमा पुस्तकालयको आवश्यकता वोध गराउनु भएको थियो । उक्त कार्यक्रममा पुस्तकालयकर्मी, पत्रकार, अनुसन्धानकर्ता गरी जम्मा एकसय वीस भन्दा बढीको उपस्थिति रहेको थियो ।