Kirtipur, Kathmandu, Nepal
मिति २०८१ फागुन १३
त्रिभुवन विश्वविद्यालयका विभिन्न निकायका पुस्तकालयहरुमा निश्चित मापदण्ड तर्जुमा गरी आवश्यक जनशक्ति पहिचानका लागि संगठन तथा व्यवस्थापन सर्भे गर्न लागिएको छ । सर्भे प्रभावकारी र कार्यान्वयन योग्य वनाउने उदेश्यका साथ सरोकारवाला निकायहरूबाट आवश्यक राय, सल्लाह, सुझाव सङ्कलनका लागि त्रिविका शिक्षाध्यक्ष प्रा.डा. खड्ग के.सी.को प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
शिक्षाध्यक्ष के.सी.ले त्रिभुवन विश्वविद्यालका सम्पूर्ण निकायको पुनसंरचना गर्ने नीति विश्वविद्यालयको रहेकाले पुस्तकालयको ओ एण्ड एम विश्वविद्यलयका लागि पाइलोट अध्ययन हुन बताउनु भएको छ । विश्वविद्यालयको यथार्थतालाई शुक्ष्म रूपमा अध्ययन गरी कार्यान्वयन योग्य प्रतिवेदन तयार गर्न सुझाव दिनु भएको छ ।
विश्वविद्यालयले लामो समयपछि ठूलो संख्यामा विज्ञापन पठाएको भएता पनि प्रविधिक कारणले पुस्तकालयका केही पदमा विज्ञापनमा छुटेकाले त्यसलाई छिटै सच्चाइने बताउनुभयो । उहाँले विनियोजित बजेट समयमै कार्यान्वयन गर्न नसक्के राष्ट्रकै समस्याबाट विश्वविद्यालय पनि अछुतो नरहेको अवस्थामा पुस्तकालयले अटोमेशनका लागि विनियोजित बजेटलाई समयमै कार्यान्वयन गर्न गरि योजना बनाउन निर्देशन दिनुभयो ।
केन्द्रीय पुस्तकालयबाट व्यवस्थापन हुँदै आइरहेको नेपाल जर्नल अनलाइन डाटावेसका स्टार जर्नलहरू पनि हालै विश्वविद्यालय अनुसन्धान आयोगले प्रकाशन गरेको जर्नलहरूको रेङ्कमा तल पर्नु दुखद् पक्ष भएकाले अब नेप्जोलका जर्नलहरूको पनि गुणस्तर विकासमा लाग्नु पर्ने बताउनुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयको अनुसन्धान निर्देशानलयबाट प्रकाशन हुने जर्नललाई एउटा नमूना जर्नलका रूपमा विकास गर्ने योजना रहेको बताउनुभयो ।
सर्वेक्षण समितिका संयोजक डा. नरेन्द्रराज पौडेलले समितिबाट हालसम्म सम्पन्न भएका कामहरूको प्रस्तुतिकरण गर्नु भएको थियो । ओ एण्ड एमका लागि विश्वविद्यालयबाट पुस्तकालय सेवा समूहका कर्मचारीहरूको आधिकारीक दरबन्दी र कार्यरत संख्या प्राप्त नभएकाले प्रतिवेदन तयारमा समस्या भएको गुनासो गर्नुभयो । सर्वेक्षणको सैद्धान्तिक पक्षको लेखन कार्य अन्तिम चरणमा पुगिसकेकाले अब सरोकारवाला निकायहरूबाट डाटा प्राप्त भएपछि छिटै प्रतिवेदन तयार हुने जानकारी गराउनु भयो । उहाँले सबैलाई सत्य तथ्य सूचना र सल्लाह सुझाव समयमै दिई प्रतिबेदन तयारका लागि सहयोग गर्न आह्वान पनि गर्नुभयो ।
सो अवसरमा त्रिवि कर्मचारी संघ केन्द्रीय समितिका अध्यक्ष छत्रबहादुर कार्कीले संगठन तथा व्यवस्थापन सर्वेक्षणमार्फत पुस्तकालयले वैज्ञानिक रूपमा जनशक्ति पहिचान गर्ने योजना सकारात्मक पक्ष भएको बताउनुभयो । उनले सर्वेक्षण केवल प्रतिवेदनका लागि प्रतिवेदन नबनाई तत्काल कार्यान्वयनमा लैजान सक्ने गरी तयार गर्न सुझाउनु भएको छ । साथै, हालै प्रकाशित विज्ञापनमा छुट भएका पुस्तकालय तथा अन्य प्राविधिक पदहरूलाई समावेश गरी संशोधित विज्ञापन प्रकाशित गर्नुपर्नेमा उनले जोड दिनुभयो ।
अन्य सेवा समूहमा कार्यरत जनशक्तिबाट जेनतेन पुस्तकालयहरू सञ्चालन गर्नुपर्ने बाध्यता रहेको, शैक्षिक पुस्तकालय सञ्चालन सम्बन्धी मापदण्ड तर्जुमा गर्नुपर्ने, विश्वविद्यालयमा पुस्तकालय निर्हिय विभागको रूपमा रहेको, केन्द्र र मोफसलका पुस्तकालयहरूको सञ्जाल सहज बनाउनु पर्ने, केन्द्रले निरन्तर अनुगम र निरीक्षण गरी आवश्यक सल्लाह सुझाव दिनु पर्ने, पुस्तकालयको विषयलाई सबै विधाको पाठ्यक्रममा समावेश गर्नुपर्ने जस्ता विषयहरू सहभागीहरूले औंल्याउनु भएको थिए । पुस्तकालय प्राविधिक विषय भएकाले सम्पूर्ण निकायका लागि आवश्यक पर्ने पुस्तकालय सेवा समूहको तहगत जनशक्तिको पहिचान हुने गरी प्रतिवेदन तयार गर्नु पर्नेमा सबैको जोड रहेको थियो ।
त्रि.वि. केन्द्रीय पुस्तकालयका नि. प्रमुख श्री सागर राज सुबेदीले स्वागत मन्तव्य दिनुभएको थियो भने पुस्तकालय अधिकृत विजय शर्माले केन्द्रीय पुस्तकालयमा पाठकहरूको सहज पहुँचका लागि उपलब्ध अनलाइन सेवा सुविधा, त्यसका चुनौति र आगामी कार्ययोजनाका बारेमा छोटो प्रस्तुतिकरण गर्नु भएको थियो ।
त्रिविका अध्ययन संस्थान तथा संकायका डीनहरु, अनुसन्धान केन्द्रका कार्यकारी निर्देशकहरु, कर्मचारी संघका अध्यक्ष तथा त्रिविका काठमाण्डौं उपत्यका भित्र रहेका अङ्गिक क्याम्पसका प्रमुखहरु, केन्द्रीय विभागका प्रमुखहरू, पुस्तकालय प्रमुखहरुबाट सल्लाह सुझाव सङ्कलनका लागि केन्द्रीय पुस्तकालयमा नै भौतिक रूपमा उपस्थितिका लागि अनुरोध गरिएको थियो भने उपत्यका बाहिरका क्याम्पस प्रमुखहरू तथा पुस्तकालय प्रमुखहरू लगायत सरोकारवालाहरुलाई अनलाईनमार्फत जोडिनका लागि जुम लिङ्क उपलब्ध गराइएको थियो ।कार्यक्रममा ६० जना भन्दा बढीको भौतिक उपस्थिति रहेको थियो भने चालिस जना अनलाइममार्फत जोडिनु भएको थियो ।
त्रिवि केन्द्रीय पुस्तकालय तथा अन्य निकायका पुस्तकालयमा कार्यरत जनशक्तिको पहिचान, प्रभावकारी सेवा प्रवाहका लागि आवश्यक पर्ने विभिन्न तह र समूहको जनशक्तिका लागि मापदण्ड तर्जुमा, ज्यालादारी, करार, ज्यामी र स्वयमसेवकमा कर्मचारी छनौटका आधार निर्धारण, पुस्तकालयको विद्यमान अवस्था र सुधार गर्नुपर्ने विषयको पहिचान र समाधानका उपायहरु पहिल्याउन आवश्यकता महसुश गरी त्रिवि पुस्तकालय विशेष समितले २०८१ भाद्र ३० गते त्रिवि जनप्रशासन केन्द्रीय विभागका विभागीय प्रमुख डा. नरेन्द्रराज पौडेलको संयोजकत्वमा त्रिवि पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागका विभागीय प्रमुख डा. लिला न्याईच्याई सदस्य र त्रिवि केन्द्रीय पुस्तकालयका उप पुस्तकालय प्रशासक लालबहादुर चौहान सदस्य सचिव रहने गरी पुस्तकालय सर्वेक्षण तथा व्यवस्थापन समिति गठन गरेको थियो ।
